Friday, August 30, 2013

अपराजिताको गाउँबाट

कोलकाता देखि २० किलोमिटर टाढामा रहेको बारासात नजिक कामदुनि गाउँमा ७ जून २०१३ को दिन २० वर्षकी एउटी युवतीको अपरहण गरेर, सामूहिक बलात्कार गरी हत्या गरियो। डिरोजिओ कलेजकी दोस्रो वर्षकी छात्रा थिइन् अपराजिता (असली नाम होइन, यस्तो बलात्कार पीडित नारीहरुलाई जसरी अर्को नाम दिइन्छ, यो त्यही नाम हो)। त्यस दिन मध्यान्ह पश्चात् उ कामदुनि बीडीओ अफिस रोड भएर आफ्नो घर तर्फ गइरहेकी थिईन्। त्यही बेला ४ जना युवक मिलेर उसलाई बलजफ्ती छेवैको मत्स्य उद्योग गरिने ठाउँभित्र लगेर उसको सामूहिक बलात्कार गरे। त्यसपछि युवतीको शरीरलाई भयानक प्रकारले विकृत गरेर छेवैको मैदानमा छोड़ी राखेर भागे। गाउँका सा-साना नानीहरूलाई उसले नि:शुल्क पढाउथिन्, यसकारण ग्रामवासीहरूको प्यारी थिइन्। उसको पिताले मिस्त्री सहायकको रूपमा काम गरेर दिनमा १५०-२०० रुपियाँ कमाउने गर्छ। यो घटनाको विरोधमा कोलकाता, सिलगढी लगायत धेरै ठाउँहरूमा जनता सडकमा ओर्लिएका थिए। सरकारको पक्षबाट एकतर्फ रुपियाँ अर्कोतर्फ धम्की दिएर त्यहाँको जनतालाई दबाउन चेष्टा चलिरहेकोछ। मुख्यमन्त्रीले पनि एकपल्ट त्यहाँ गएर आफ्नो गुनासो व्यक्त गर्ने मानिसहरूलाई धम्की दिएर, उनीहरुमाथि षड्यन्त्र गरेको आरोप लगाएकी थिइन्। हाम्रो केहि साथीहरुले त्यहाँ गएर, दुइपल्ट लेखिएको दुइवटा रिपोर्ट (एकपल्ट मुख्यमन्त्री जानु अघि, अनि फेरी उनि गएको भोलिपल्ट) 'क्रान्तिकारी नवजवान सभाको' फेसबुक पेजबाट प्राप्त गरेर त्यसको अनुवाद यहाँ पेश गर्दैछौं— 



७ जुनको घटना पछाडी कामदुनिका मानिसहरूको आवाजमा आवाज मिलाउदा...

कामदुनिमा भएको सामूहिक बलात्कार अनि हत्याको विरोधमा सामेल हुन १६ जूनको दिन म अनि मेरा अन्य साथीहरू [राजनैतिक कार्यकर्ता] त्यहाँ पुग्यौ। प्रस्तुत छ त्यहाँ भएको घटनाको छोटो विवरण

म कहिले पनि कुनै बलात्कारको सिकार भएको व्यक्तिको परिवारसँग भेटेको थिइनँ। त्यसैकारण होला मध्यमग्राम इश्टेसनबाट जब हामी टाटा म्याजिक कार मार्फत कामदुनि जादै थियौँ, म यही मात्र सोच्दै थिए कि त्यहाँ पुगेर त्यस घटनाको सिकार बनेकी युवतीको पिता अनि दाजुलाई के भन्ने हो? त्यो परिवारलाई के भन्ने हो जसको चेलीको मात्र ९ दिन अघि हत्या गरिएको थियो? के उनीहरूलाई हाम्रो सहानुभूतिको शब्द मात्र शब्द त लाग्ने होइन? अनि त्यहाँका ग्रामवासीहरूले हामीसित कस्तो व्यवहार गर्छन् होला, त्यही मानिसहरू जो सँग  हुर्केकी थी, खेलेकी थी, या कुनै दिन केही कुरा लिएर झगडा गरेकी थी अनि उनीहरूबीच फर्की मात्र एउटा लास बनी झोलामा?

जब हामी त्यहाँ पुग्यौं, त्यहाँ कुनै पत्रकार थिएन न थियो कुनै मिडियाको वाहन्। त्यहाँ कुनै पनि सत्ताधारी पार्टी या विगतको सत्ताधारी पार्टीका राजनैतिक कार्यकर्ताहरू उपस्थित थिएनन्। गाऊ एकदमै शान्त थियो, एक दुई जना पत्रकार अनि कोलकाताबाट आएको थिएटर कार्यकर्ताहरूका एउटा सानो ग्रुप बाहेक अरू कोही उपस्थित थिएन।

अझ सुनसान थियो त्यस् युवतीको घर। उसको पिता साथै परिवारका अन्य सदस्यगण हामीलाई देखेर अक्क--बक्क परे। पीडाले मानिसलाई ढुंगा झैं बनाउछ भन्ने कुराको अर्थ उनीहरुलाई देखेर बुझे जस्तै लाग्यो। त्यो पलमा ज्यादा केही भन्नलाई थिएन। केवल शोक प्रकट गरी, एक दुइवटा बात गरेपछि हामी त्यहाँबाट विस्तारै निस्कियौं...

तर कामदुनि पीडाको शब्दमात्र होइन। यो शब्द हो विरोधको, राज्यलाई थप्पड हो कामदुनि। यो त राज्य हो जसले समाजमा प्रबल रूपमा चलीरहेको लैंगिक हिंसा लाई रोक्नको निम्ति कुनै ठोस कदम लिंदैन। बरु लैंगिक हिंसालाई त एउटा हतियारको रूपमा लिन्छ, मानिसहरूका विरोधको भावनालाई दबाउनको निम्ति। यो त्यही राष्ट्र हो जसले यस्तो घटनाबाट प्रभावित भएको मानिसहरूलाई पैसा अनि काम पाउने प्रस्ताव दिन्छ मात्र उनीहरूको रिस दबाउनलाई। यसकारण यो क्रोध निस्कनु जरुरी छ। प्रस्ताव गरिएको पैसालाई उनीहरूले अस्वीकृति जनाए। राज्यले जसरी छल गरेर मानिसहरूलाई न्याय पाउन देखि वन्चित गर्थे, त्यसलाई उनीहरूले स्वीकार गरेनन्।

यी सबै कुराहरू मैले ग्रामका अन्य मानिसहरूबाट  थाहा पाए। कसैलाई उनीहरूकै घर अघि भेटेर यो सबै थाहा पाए, कसैलाई पानी थाप्ने धारा अघि, क्लब अगाडी। प्रस्तुत छ त्यही वार्तालापको केही सानो अंश

यो कुनै नयाँ घटना होइन, यो सब त पहिला देखिनै चली आइरहेको छ।

यो बाटोमा कुनै वाहन पाइन्दैन। पाठशाला पुग्नको निमित नानीहरू आधा घण्टा हिड्न पर्दछ।

स्ट्रीट ल्याम्पहरू पनि कम्ती मात्रामा छन्। हामीलाई यसको धेरै खाचो छ।

केटीहरू त झन् पाठशाला अनि महाविधालय जान डराउँछन्; तब तिनीहरू कसरी पड़न सक्छन्?”

हामीले पैसा थापेनौ, अनि दिएको काम पनि स्वीकार गरेनौ, न गर्ने छौ।

यस्तो घटना हुने स्थानको वरिपरि बनाएको पर्खाललाई भत्काउनु पर्छ। यहीँ स्थान हो असामाजिक तत्वहरूको लुक्ने ठाउँ। यदि सरकारले यो काम गरेन भने,हामी अवश्य यो काम गर्ने छौ।

यस्तो घटना पहिला पनि भएको हो। छिमेकी गाउँमा पनि एक वृद्ध महिलाको बलात्कार भएको थियो। तर ती अपराधीहरूबाट २००० रुपियाँ थापेर त्यो महिला पुलिस कहाँ गइन। तर अब फेरी त्यस्तो हुने छैन।

हामी १८ सम्म हेर्नेछौ। त्यसपछि जे गर्नु पर्ने हो हामी गर्ने छौ।

हामी चाहन्छौ कि यो विरोधको ज्वाला चारैतर्फ फैलियोस। यदि कोलकातामा तपाइहरूले केही गर्न सक्नु भयो भने हामीलाई बोलाउनु होस्, हामी अवश्य त्यहाँ आउनेछौ।

त्यसैबिच हामीले अरू धेरै कुराहरू सुन्यौं जो चिन्ताजनक थियो।

हामीलाई चारैतिरबाट घेरेको छ, अन्य धर्मका मानिसहरू यहाँ आउने गर्छन्, हाम्रा आमा अनि दिदी-बहिनीहरू यी मानिसहरूको सिकार बनी रहेका छन् ।

जब हामीले उनीहरूलाई यस्तो किन सोच्नु हुन्छ भनी सोध्यौं, हामीले फेरी त्यही शब्दहरू जवाबमा पायौं

हामीलाई चारैतर्फबाट घेरेको छ, अन्य धर्मका मानिसहरू ती ग्रामवासीका अनुहारबाट यो सजिलोसँग बुझ्न सकिन्थ्यो कि उनीहरूले बोलिरहेका शब्दहरू उनीहरूका थिएनन्, तर कसैले उनीहरूलाई सिकाएका थिए। हामीले यो पनि थाह पायौ कि एक दुई दिन अघि बारासातमा हिन्दु शान्ति मञ्चले एउटा सम्मेलन आयोजना गरेको थियो। तिनीहरूले दिनहु जस्तै त्यहाँ कार्यक्रमहरू आयोजना गरिरहेका थिए, जस्तै पर्चाहरू बाटने काम या पोस्टर्स टाल्ने काम।

अन्त्यमा गएर एउटा जुलुस निकाल्यौं। सुरुमा हामी बाहिरबाट आएका जम्मा ४० जना थियौ भने अन्त्यमा लगभग १५० जना मिलेर यो घटनाको विरोध गर्दै आफ्नो क्रोध अनि शोक प्रकट गरी अघि बढ्यौं। आउनुहोस्, हामीले जुलुस गर्नुपर्छ भन्दै जुलुसमा भाग लिने ग्रामवासीहरूले अरू मानिसहरूलाई अनुरोध गरे।

के हुने थियो होला यदि हामीले दुई महिना अघाडी त्यो जुलुस कामदुनिमा गरेको भए?अनि त्यो पनि बलात्कार जस्तो सम्वेदनशील मुद्दामा? सरकारले हरजनाको नाममा दिएको काम अनि पैसालाई अस्वीकृति जनाएर राज्यलाई कसरी थप्पड हाने ती पिताले जसको आर्थिक अवस्था दुर्बल छ? उनलाई कहाँबाट यस्तो हिम्मत आयो होला? कसरी कामदुनिका मानिसहरूले साहस बटुले होला यस्तो राजनैतिक शक्तिको अघि लड्न?” कोलकाता फर्कँदा मैले येही कुराहरू सोची रहे।

यो सही हो कि यी सबैको पछाडि धेरै कारणहरू छन्। तर मलाई लाग्छ दिल्लीमा भएको दामिनी बलात्कार घटना अनि देश भरि नै चलेको विरोध, धेरै कारणहरू मध्ये एक हो। त के यस घटनापछि दिल्लीको दामिनी अनि कामदुनिको अपराजिता मृत्यु पश्चात् एउटै भएनन्?

*****

१७ जूनको मुख्यमन्त्रीको भ्रमण पश्चात् कामदुनिमा के भइरहेको छ

१९ जूनको बिहान एउटा फोन कल आयो।

म कामदुनिबाट बोलिरहेकी छु”; एउटी महिलाले भनी। अस्ति तपाइहरू यहाँ आउनुँ हुँदा तपाइले हामीलाई सहायता गर्नेछु भनेर भन्नु भएको थियो, आज हामी सङ्कटमा परेका छौ। के तपाइहरू यहाँ आउनु सक्नु हुन्छ?”

सबैलाई सुचित गर्नु हामीलाई एक घण्टा जस्तो लाग्यो। कामदुनि तर्फलाग्दा हामीले ती महिलालाई फोन गऱ्यौ । त्यस समय त्यो आवाजमा डर अनि भय थियो। उनले भनी, ”हेर्नुहोस्,यदि तपाइहरू यहाँ आउनु भयो भने कृपया गरी हामीलाई गाउँभित्र भेटने कोसिस नगर्नु होला। यो हाम्रो बिन्ती हो।

त्यहाँ देखि सन्देहको भावना लिएर हामी कामदुनि तर्फ लाग्यौं अनि जब हामीले बाटोमा टिएमसिका झण्डाहरू अनि मोटरसाइकल देख्यौ, त्यो सन्देह वास्तविकतामा परिणत भयो।

कामदुनिको पनि त्यही हालत थियो। दुई दिन अघि जुन कामदुनि हामीले देखेका थियौँ, त्यो कामदुनि त्यहाँ थिएन। त्यो एक भएर लड्ने क्षमता कामदुनिमा थिएन। दुई दिन अघिको विरोधको नारा लगाउने आवाजहरू हामीसित बोल्न पनि हिच्किचाउदै थियो। एक वृद्ध पुरुष एउटा पत्रकारसँग बात मार्न जादा, अर्को युवकले उनलाई अघि नजाने सङ्केत दिए।

अन्त्यमा गएर त्यहाँका युवकहरूसँग हामीले केही बातचित गरयौ। पहिलोचोटी जाँदा सडकको छेवको  पोखरीमा बसेको केही स्थानीय युवकहरूसँग हामीले कुराकानी गरेका थियौ। आज त्यही ठाउँमा अन्य मानिसहरूको समूह बसेको थियो। त्यहाँ एउटा युवकलाई उसको केही साथीहरूले घेरेको थियो, सायद ऊ त्यस समूहको नेता थियो होला। उसको घाटीमा सुनको हार थियो अनि औंलाहरूमा अनेक रङ्गका चम्किला औठीँहरू थिए। पछि गएर हामीलाई थाहा लाग्यो कि ऊ राजारहाटको एमएलए, सब्यसाची दत्त रहेछ। केही बातचित गर्न हामी उनीतर्फ लाग्यै तर आफू बसेको ठाउँबाट उठने कष्ट धरी गरेनन् उनले। हाम्रो वाक्य सुनेर उनले भने ; “हेर्नुहोस, जे हुनु थियो, त्यो भै हाल्यो। गणतन्त्र अनि शान्ति यस गाऊमा फर्किसकेको छ। तपाइहरू यहाँ आउनुभएकोमा हामी खुसी छौ, तर यहाँको शान्ति भङ्ग नगरिदिने अनुरोध गर्छौ। यसरी विनम्रतापूर्वक दिएको धम्की हाम्रो लागि एउटा नौलो अनुभव थियो। उसको मित्रहरू पनि भद्र स्वभावका थिए।

बाटोमा हामीले एकजना युवकलाई भेट्यौ जसलाई हामीले पहिलो दिन पनि भेटेका थियौ अनि त्यही बसेर बातचित गर्न थाल्यौ। उसको अनुहारबाट बुझ्न सकिन्थियो कि ऊ डराइरहेको थियो। उसले सानो स्वरमा हामीलाई भन्यो, “यहाँ होइन, हामी फोन मार्फत बाट गरौं।

सायद सब्यसाचीले त्यस दिन ग्रामवासीको निम्ति भोजको व्यवस्था गरेका थिए होलान्। नजिकै मैदानमा खिचडी पाक्दै थियो। यो भोज ती गाउँलेहरूको लागि बनाइएको थियो जो आफ्नो गाउँको छोरीसँग भएको ती अप्रिय घटना सम्झेर शोकमा डुबेको थियो। अन्तमा हामीले त्यहाँबाट फर्किने निर्णय गर्यौ। के एक रातमा कामदुनि परिवर्तन भयो? हामीलाई यो विश्वास गर्न साह्रो पयो।

यो हामीले पछि थाहा पायौ कि कामदुनि सम्पूर्ण रूपमा बद्लेको थिएन। अघि जो हामीसित कुराकानी गर्न हिच्किचौदै थियो, ऊ आफै हामीसँग बात गर्न अघि आयो।

मुख्यमन्त्री आउनु भएको थियो अनि उनले सबै थोक ध्वस्त गर्नुभयो। एउटी महिला उनीसित बात गर्न चाहान्थिन मात्र यही कारणले गर्दा त्यस महिलालाई उनले माओवादी भनिन्। कहाँ छन् माओवादी? के यहाँ कुनै जङ्गल छ? जहाँ तिनीहरू आएर लुक्न सक्छन्? के यो बिहार हो? बिस्तारै त्यहाँ गाउँका अरू मानिसहरूपनि आउँन थाले।

टूम्पाले केही चाहेको थिएन, ऊ त मुख्यमन्त्रीसँग बात गर्न मात्र चाहन्थी। कसरी उसलाई मुख्यमन्त्रीले यसो गर्न सक्यो?”

टूम्पासंग जे गरियो त्यो सरासर गलत हो। अब ती गुण्डाहरू अझ प्रोत्साहित हुने छन्।

अझ कसैले त झन् निभर्यता पूर्वक भन्न थाले

पहिले त स्यालहरूले राति हाँस-कुखुरा चोरेर लैजाने गर्थ्यो, अब त दिनको उज्यालोमा नै मान्छे लैजान्छन्।

के तपाइलाई थाहा छ कामदुनिमा सुनको खानी छ?” कसैले भन्यो, “मत्स्य-उध्योग। करोरौ रुपियाँको व्यापार। जो पनि पञ्चायती सत्तामा आउछ उसले पुरा मौज गर्छ, त्यो चाही वामफ्रन्ट होस् वा टिएमसी। ती गुण्डाहरूले लुटेर लैजान्छन् भने पञ्चायतका प्रधानले त्यहीबाट नाफा कमाउछन्।

अनि कामदुनिका वासिन्दाहरू? जस्ता थिए त्यस्तै बस्छन, त्यही गरिब खटी खाने गाउँले भइ।

बाटोमा फर्किंदा एउटा ग्रामवासीको शोकले भरिपूर्ण वाक्य मेरो कानमा गुञ्जीरहेको थियो, "हामी सबै एक भै लडी रहेका थियौ। तर अब हेर्नुहोस्उहाँ आएर के भयो? सबै जना अलग भयो।

के यो मानिसहरूको यस्तो आन्दोलनमा मात्र एक थप श्रंखला हो जसलाई संसदीय शक्तिहरूले दबाउछन्। वा कामदुनिको यस्तो घटनाहरूबाट अत्याचार विरुद्ध लड्ने नयाँ बाटोहरू खन्ने काम गर्ने?

'क्रान्तिकारी नवजवान सभा'को फेसबुक पेजमा प्रकाशित,

अनुवाद - अम्बिका राई



कामदुनिका मानिसहरुको सङ्घर्ष चलिरहेछ। सिकार बन्न पुगेकी युवतीको परिवार अनि गाउलेहरूले न्यायको माँग गरिरहेको बेला सरकारबाट आर्थिक सहायतालाई नकारेर दोषीहरूलाई सजाय र गाउँमा कलेज, बाटोमा लाइट, यातायातको राम्रो बन्दोबस्त माँग्दैछन्। सरकारको पक्षबाट दोषीहरुलाई बचाउने काम भैरहेछ। जाँच रिपोर्ट, चार्जसिटहरू, कानुनी कार्वाही बाट यो स्पष्ट हुन्छ।  जसरी मानिसहरुलाई धम्काईन्दैछ, उनीहरुलाई समस्यामा हालिंदैछ, उनीहरुको बेतन रोकीरहन्छ यस्ता घटनाहरूले सरकार र शासकदलको भूमिकालाई स्पष्ट पार्छ। तर त्यहाँका बहुसख्यक मानिसहरूले पंचायत भोटलाई बहिष्कार गरेका छन। अनि यो मुद्दालाई लिएर धेरै कार्यक्रमहरू चलिरहेछ, जसमा त्यहाँका मानिसहरुले भयभित् नभएर उत्साहसँग भागीदारी लिइरहेकाछन्।







No comments:

Post a Comment